परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विभिन्न देशमा रहेका नेपालीको अवस्थाबारे जानकारी

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज विभिन्न देशमा रहेका नेपालीहरुको अवस्थाको जानकारी लिएका छन् । मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकाका नेपाली नियोगका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री ज्ञवालीले कोरोनाको संक्रमण र त्यहाँका नेपालीको अवस्थाको बारे जानकारी लिएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय रामेश्वर राय यादवको समेत उपस्थितिमा भएको भिडियो कन्फ्रेन्समा नियोग प्रमुखहरूले सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमबारेमा जानकारी गराएका थिए ।

त्यस्तै नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई पुर्‍याइरहेका नियमित र आकस्मिक सेवालगायतका बारेमा जानकारी गराएका थिए ।

मन्त्री ज्ञवालीले सम्बन्धित देशका नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनीहरुको तलब तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न, नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie