देशैभर पीपीई अभाव, जोखिममा चिकित्सक

काठमाडौं : चिकित्सकहरुले उपचारका क्रममा संक्रमणबाट बच्ने पोशाक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) अनिवार्य रुपमा लगाउनुपर्छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि समेत चिकित्सकहरुलाई पीपीई अत्यावश्यक छ । तर, नेपालमा पीपीई अभाव हुँदा कोरोना संक्रमणको आशंकामा अस्पताल आएका बिरामीहरुलाई परीक्षण तथा उपचार गर्न समस्या देखिएको छ ।

पीपीई नलगाई उपचारमा संलग्न हुँदा चिकितस्कहरु नै संक्रमणको जोखिममा पर्छन् । अस्पतालमा पीपीईको व्यवस्था नहुँदा उपचारमा खटिने चिकित्सकहरुले आफूहरूलाई भाइरस सर्ने जोखिम बढ्ने भन्दै उपचारमा संलग्न हुन डराई रहेका छन् । डरका बीच उनीहरु पीपीई नलगाई उपचारमा संलग्न हुन बाध्य भएका छन् ।

दैनिक एक जना चिकित्सकका लागि करिब आठ वटासम्म पीपीर्ई चाहिने चिकित्सकहरु बताउँछन् । पीपीर्ई लगाएर एक जना बिरामीलाई एक पटक चेकजाँच गरेपछि उक्त पीपीई सुरक्षित स्थानमा डिस्पोज गर्नुपर्ने हुन्छ । अधिकांश कोरोना आशंकाका बिरामी जाने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक एक सय पीपीई खपत हुने अस्पतालले बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वास्थ्यकर्मीलाई दिएको उपचारको गाइडलाइनमा पीपीईलाई पहिलो र अनिवार्य भनेको छ । डब्लुएचओले नेपाललाई कोरोनाको उच्च जोखिम रहेको भन्दै १५ सय पीपीई खरिद गर्न सुझाव समेत दिइसकेको छ ।

सरकारले नेपालमा पीपीई अभाव भएपछि चीनबाट मगाइएको जानकारी दिएको छ । हाल सरकारसँग ३ सय ५० थान मात्र पीपीई भण्डारण रहेको बताइएको छ । अघिल्लो साता स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले पीपीई तथा अत्यावश्यक १७ थरि इक्युप्मेण्टका लागि टेण्डर आहृवान गरेको थियो । तर अहिलेसम्म त्यसपछिका प्रक्रिया अगाडि बढेको छैन ।

तपाईको प्रतिक्रिया

Techie