सार्क स्वास्थ्य अधिकारीहरुबीच भिडियो कन्फरेन्स

काठमाडौं : दक्षिण एसियाली मुलुकहरुको संगठन ‘सार्क’का सदस्य राष्ट्रहरुले कोरोना भाइरसको नियन्त्रण र उपचार सम्बन्धी अनुभव आदान प्रदान गर्ने भएका छन् । बिहीबार सदस्य राष्ट्रका स्वास्थ्य अधिकारीहरु बीच भएको भिडियो कन्फरेन्समा यस्तो सहमति भएको छ ।

सबै मुलुक एउटा साझा स्वास्थ्य डोमेन सञ्चालनमा पनि सहमत भएका छन् । सार्क–कोइन डट ओआरजी नामक सो वेवसाइटमा कोरोना भाइरसको आपतकालिन स्वास्थ्य उपचारसम्बन्धी अनुभव तथा जानकारी आदानप्रदान गरिने भएको हो ।

सो पोर्टललाई १३ अप्रिलसम्म सञ्चालनमा ल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कोरोनाको संक्रमण दक्षिण एसियाली मुलुकमा समेत फैलिन थालेपछि सार्क संगठनका विभिन्न निकाय तथा पक्षबीच केही दिनदेखि निरन्तर छलफल हुँदै आएको छ ।

केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयोजनमा सरकार प्रमुखबीच भिडियो कन्फरेन्स भएको थियो । कन्फरेन्समा कोरोनासँग जुझ्न साझा कोष बनाउने सहमति भएको थियो । त्यस्तै अर्थमन्त्री र परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie